असार १३ काठमाडौं । विश्व फुटबलका महान हस्ती तथा ब्राजिलियन लिजेण्ड रोनाल्डिन्होको टोली रान्स नुसनतारा एफसीलाई हराउँदै नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दको टोलीले आइतबार ‘ट्रफियो रोनाल्डिन्हो’को च्याम्पियन बनेको छ ।
रोनाल्डिन्हो कै सम्मानमा ‘ट्रफियो रोनाल्डिन्हो’ नाम राखी आयोजित फुटबल प्रतियोगिता अन्तरगत ३० मिनटको पहिलो खेलमा रोहितको टोली पेर्सिक केडिरी एफसीले रोनाल्डिन्होको टिम रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले हरायो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । रोहित टोलीको पहिलो रोजाई मै मैदानमा उत्रिएका थिए र पूरा समय खेलेका थिए । त्यस्तै दोस्रो खेलमा पनि पेर्सिकले एरेमा एफसीलाई पेनाल्टी शुटआउट मै ५-४ हराउँदै दोस्रो जित दर्ता गर्यो । त्यो खेल पनि निर्धारित समयतर्फ गोलरहित बराबरीमा टुंगिएको थियो ।
लगातार दुई खेलमा जित निकालेको रोहितको टोलीले यो फुटबल प्रतियोगिताको ट्रफी जित्न भने सफल भएको हो ।



