एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले आर्सनलमाथि जित सहज निकालेको छ ।
आइतबार राति आर्सनलको मैदान इमिरेट्समा भएको खेलमा पाहुना टोली चेल्सीले २-० गोलको जित निकालेको हो । चेल्सीको जितमा यसै सिजन स्टाम्फोर्ड ब्रिज फर्किएका फरवार्ड रोमेरो लुकाकु र रिस जेम्सले एक–एक गोल गरे ।
खेलको १५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यस्तै खेलको ३५औं मिनेटमा जेम्सले गोल गरेपछि चेल्सीले आफ्नो अग्रता दोब्बर बनायो । पहिलो हाफै २-० गोलको अग्रता बनाएको चेल्सी उक्त अग्रता कायम गर्दै खेलमा विजयी भयो ।
उक्त जितसँगै चेल्सीले प्रिमियर लिगमा दोस्रो जित निकाल्दै शीर्ष स्थान बनाएको छ । चेल्सीले पहिलो खेलमा क्रिस्टल प्यालेसलाई हराएको थियो । यता अङ्कविहीन आर्सनल भने १९ं स्थानमा छ । यो उसको लगातार दोस्रो हार हो । यसअघि उसले पहिलो खेलमा ब्रेन्टफर्डसँग २–० गोलको हार ब्यहोरेको थियो ।
