असार १७ काठमाडौं । अखिल नेपाल फुटबल संघका महासचिव किरण राई नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार ढाकास्थित साफ मुख्यालयमा महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गरेका छन् ।
महासचिव राई, पूर्व सीओ सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशीले काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको प्रस्तावित मितिबारे छलफल गरेका थिए ।
महासचिव राईले अगष्ट २९ देखी १० सेप्टेम्बर (भदौ १३/२५) सम्म काठमाडौंमा साफ महिला च्याम्पियनसिप गर्ने मिति प्रस्ताव गरे । साफको महासचिव हकले उक्त प्रस्तावप्रति सकारात्मक रहेको बताए ।
प्रस्तावित मिति अब अनुमोदनका लागि शनिबारको साफ कंग्रेसमा पेस हुनेछ । उनीहरुबीच फुटबल विकास र क्षेत्रीय संघमा हुने फुटबलका विभिन्न पक्षका बारेमा पनि छलफल भएको थियो ।



