असार १८ काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफले काठमाडौंमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालको प्रस्तावलाई अनुमोदन गरेपछि नेपालले अगस्ट २९ देखि सेप्टेम्बर १० (भदौ १३ देखि २५) सम्म आयोजना गर्ने भएको हो ।
बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले प्रतियोगिता काठमाडौंमा आयोजना गर्न प्रस्ताव गरेको थियो । प्रतिनिधिमण्डलले शुक्रबार ढाकामा साफ महासचिवसँग भेट गरेको थियो ।
नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो ।



