असार २७ काठमाडौं । आईसीसी विश्वकप लिग टू को त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो । नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ ।
सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो । क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।



