शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्डद्वारा तीन बाम पार्टीबीच एकताको प्रस्ताव, एकता प्रस्ताव सफल होला त ?

एक्सप्रेस पाना
श्रावण ५, २०७९ बिहीबार
  • 240
    SHARES
  • प्रचण्डद्वारा तीन बाम पार्टीबीच एकताको प्रस्ताव, एकता प्रस्ताव सफल होला त ?

    साउन ५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन बाम पार्टीबीच एकता प्रस्ताव गरेका छन्।

    images

    जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बिहीबार ललितपुरको हात्तीवन हाउजिङमा भएको छलफलमा प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. बाबुराम भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेका हुन्।

    पूर्व नयाँ शक्तिमा माओवादीबाट गएका नेताहरु बाबुरामलाई माओवादी केन्द्रमै फर्किन दबाब दिइरहेका छन् । नयाँ पार्टी बनाउनुभन्दा माओवादी केन्द्रमै फर्किने र त्यसलाई रुपान्तरण गर्ने दबाब उनीमाथि बढ्न थालेको हो ।

    images

    बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलका अनुसार प्रचण्ड र बाबुरामबीच बिहीबारको छलफलमा के विषयमा कुरा भयो भन्ने प्रस्ट हुन बाँकी रहे पनि पहिलादेखि नै बाबुरामले यस प्रकारको प्रस्ताव गर्दै आएका छन् । उनले भने, ‘बाबुरामले पार्टीको नाममात्र परिवर्तन होइन, समग्र पार्टीलाई नै रुपान्तर गरेर अगाडि बढौं भनेर प्रचण्डसमक्ष पटकपटक प्रस्ताव गर्नुभएको छ, आज पनि नगरेको होला भन्न सकिँदैन ।’

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलादेखि नै बाबुरामलाई माओवादी केन्द्रमा फर्कन आग्रह गर्दै आएको र जवाफमा बाबुरामले पार्टी रुपान्तरणको प्रस्ताव राख्दै आएको पोखरेलको भनाइ छ ।

    माओवादी केन्द्रको नाम परिवर्तन गरे आफू फर्कन सक्ने प्रस्ताव बाबुरामले गरेको प्रचण्ड निकट एक नेताले रातोपाटीलाई बताए । प्रचण्डले यस बारेमा कुनै ठोस प्रतिक्रिया नदिए पनि पार्टीमा छलफल गरेर पुनः बस्ने आश्वासन दिएको बताइएको छ ।

    अध्यक्ष प्रचण्डका साथमा रहेका केही नेताले पार्टीको नाम जेसुकै भए पनि त्यसमा कम्युनिस्ट शब्द झुण्डिएकै हुनुपर्ने भन्दै आइरहेका छन् । वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, मातृका यादव, चक्रपाणी खनाललगायतका नेताहरु पार्टीमा कम्युनिस्ट जोडिएकै हुनुपर्ने पक्षमा छन् । बाबुरामलाई ल्याउनका लागि प्रचण्ड पार्टीको नाम फेर्न सकारात्मक भए पनि उनकै साथमा रहेका नेताहरु नमान्ने पक्षमा रहेको बुझिएको छ ।

    यसअघि अध्यक्ष प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पटकपटक भेट भई यस विषयमा छलफल गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड