साउन ९ काठमाडौं । भारतको भुवनेश्वरमा आजबाट सुरु भएको यू-२० साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले उद्घाटन खेलमा माल्दिभ्समाथि ४-० गोलको फराकिलो जित निकालेको छ ।
नेपालको जितमा दीपेश गुरुङ, सुगम सुवाल, कृतिषरत्न छुन्जु र मनग्य नकर्मीले समान १/१ गोल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।
निकै रोमाञ्चक बनेको पहिलो हाफमा खेलमा नेपाललाई अग्रता दिलाउन दीपेश गुरुङले गोल गरे । उनले खेलको ४१औं मिनेटमा निकै सुन्दर गोल गरेका हुन् । विपक्षिय खेलाडीले डिबक्स भन्दा बाहिर फल गरेपछि पाएको फ्रिकिकलाई कप्तान आयुष घलानले प्रहार गरेको उक्त बल माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा आएको बलमा झण्डै २५ यार्डबाट दीपेशले गोल गरेका थिए ।
यस्तै दोस्रो हाफमा पनि नेपालले माल्दिभ्समाथि दबाब दिदै सुगम सुवालले खेलको ५८औं मिनेटमा गोल गरि नेपाललाई २-० गोलको अग्रता दिलाएका थिए । त्यस्तै खेलको ६२औं मिनेटमा नेपालले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीमा नेपालका कृतिषरत्न छुन्जुले सानदार गोल गरी ३-० गोलको अग्रता दिलाए ।
६१औं कप्तान आयुष घलानलाई फल गरेपछि रेफ्रिले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । उक्त पेनाल्टीमा कृतिषरत्न छुन्जुले कुनै पनि गल्ति नगरी खेलमा ३-० गोलको अग्रता दिलाएका थिए । त्यसपछि खेलको अतिरिक्त समयमा मनग्य नकर्मीले गोल गरि नेपालले पहिलो खेलमै सानलदार जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको छ ।
आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का गरी पाँच टोलीको सहभागिता रहेको छ । यसैगरी नेपालले दोस्रो खेल साउन ११ गते श्रीलङ्कासँग र तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल साउन १५ गते हुनेछ । त्यस्तै नेपालले साउन १७ गते बङ्गलादेश खेल्ने छ । प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले यही साउन २० गते उपाधिका लागि खेल्नेछन् । तस्बिर : सामाजिक सन्जाल



