एजेन्सी । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले कम्युनिटी सिल्डको उपाधि जितेको छ । शनिबार किंग पावर रंगशालामा भएको खेलमा लिभरपुलले ३-१ गोल अन्तरको जित निकाल्यो ।
लिभरपुललाई उपाधि दिलाउन ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले समान १-१ गोल गरे । यता सिटीका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काए पनि टोलीको हार टार्न भने सकेनन् ।
खेलको २१औं मिनेटमा आर्नोल्डले लिभरपुललाई अग्रता दिलाए। सलाहको पासमा उनको पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिटिको डिफेन्डरलाई लाग्दै डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले ७०औं मिनेटमा खेल बराबरीमा ल्याए । दोस्रो हाफको ५६औं मिनेटमा मैदान छिरेका उनले फिल फोडेनको प्रहारलाई रिबाउन्डमा गोल गरे ।
तर लिभरपुलले अन्ततिर पुन अग्रता बनाउन सफल भयो । खेलको ८३औं मिनेटमा सलाहको पेनाल्टी गोल गरे । न्युनेजको हेडरलाई सिटीका कप्तान रुबेन डियासले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
इन्ज्युरी समयको पाँचौ मिनेटमा लिभरपुलले तेस्रो गोल संभव बनायो । न्युनेजले गोल गर्दै लिभरपुलको अग्रता ३-१ मा पुर्याए । उनले अधिकारिक डेब्युमै गोल गरेसँगै सिजको पहिलो उपाधि जित्न लिभरपुल सफल रह्यो ।



