एजेन्सी । स्पेनिस महराथी रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ । च्याम्पियन्स लिग विजेता रियलले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
बिहिवार बिहान सम्पन्न खेलमा रियललाई जिताउन डेविड अलाबा र करीम बेन्जेमाले १-१ गोल गरे । रियलले पहिलो हाफमा अलाबाको गोलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३७औं मिनेटमा कर्नरबाट आएको बलमा क्यासेमिरोले गोलरक्षक र डिफेन्डरको गल्तिको फाइदा उठाएका थिए । उनले अलाबालाई हेडरमार्फत पास दिँदै । यस्तै खेलको ६५ औं मिनेटमा बेन्जेमाले रियलको अग्रता दोब्बर पारे । त्यसपछि बाँकी समय थप गोल नहुँदा रियल विजयी भयो ।
उक्त जित सँगै रियल मड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ । हालसम्म यी तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन् ।



