साउन २६ काठमाडौं । यसै बर्षको अन्त्यमा एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिता निर्धारित मिति भन्दा एकदिन अघिबाट सुरुवात हुने सम्भावना प्रबल बनेको छ ।
कतारले फिफासँग प्रतियोगिताको उद्घाटन एक दिन अघि गर्न स्विकृत मागेको समाचार संस्था रोयटर्सले जनाएको छ । स्रोतलाई उदृत गर्दै रोयटर्सले आयोजक राष्ट्र र फिफाबीच सहमति भएको र अब ६ महादेशीय प्रमुखसँग सहमति पछि आधिकारिक निर्णय सार्वजानिक गरिने जनाइएको छ । पूर्वनिर्धारित तालिकाअनुसार कतार र इक्वेडरबीचको विश्वकप उद्घाटन खेल २१ नोभेम्बर अर्थात मंसिर ५ मा हुने कार्यतालिका रहेको छ ।
तर फिफाको तालिका अनुसार विश्वकपको उद्घाटन अघि समूह ए अन्तर्गत सेनेगल र नेदरल्यान्ड्स र समूह बी अन्तर्गत इङ्ल्यान्ड र इरानबीचको खेल हुने कार्यतालिका थियो । अर्थात् २१ नोभेम्बरको ३:४५ मा सेनेगल र नेदरल्यान्ड तथा ६:४५ इंग्ल्यान्ड र इरानबिच खेल हुने कार्यतालिका रहेको थियो। त्यसपछि उद्घाटन समारोह सुरु गरेर कतार र इक्वेडरबीच ९:४५ मा खेल हुने कार्यतालिका रहेको थियो ।
तर विश्वकप फुटबल जस्तो महत्वपुर्ण प्रतियोगिताको उद्घाटन खेलअघि दुईवटा खेल निर्धारित हुनु असामान्य भन्दै आलोचना भएको थियो । सामान्यतः ठूला खेलकुद प्रतियोगिताको उद्घाटन खेलअघि अन्य खेलहरु हुँदैनन् ।
त्यसैले आयोजक कतारले फिफाको नेतृत्वसँग उद्घाटन समारोह र आयोजक देशको खेल आइतबार २० नोभेम्बरमा गर्नका लागि सहमति गरेको जनाइएको छ ।
कतारको यो प्रस्तावमा फिफाका ६ महादेशीय संघका प्रमुख र अध्यक्ष जियान्नी इन्फान्टिनोले सहमति जनाउनुपर्ने छ । छोटो समयमा गरीएको यो प्रस्तावमा सहमति हुने संभावना बलियो रहेको जनाइएको छ। जसका कारण प्रतियोगिता एकदिन अघि नै सुरु हुने संभावना बलियो बनेको हो ।



