साउन २६ काठमाडौं । नेपालको फ्रेन्चाइज फुटबल प्रतियोगिता दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल लिग असोजमा आयोजना हुने भएको छ ।
खेलाडीको अक्सन लगाएतका सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा एन्फा भित्रको आन्तरिक राजनीतिका कारण अन्योलमा रहेको एनएसएल प्रतियोगिता असोज २३ गतेबाट आयोजना गर्न दिने अनुमति दिइएको हो । एन्फामा वर्तमान नेतृत्व आएपछि दोस्रो बैठक सातदोबाटोमा जारी रहेको छ ।
यहि बैठकले असोज २३ गतेदेखि एनएसएल आयोजना गर्न अनुमति दिने निर्णय गरेको हो । साथै बैठकले विगतमा एनएसएल आयोजक र अखिल नेपाल फुटबल संघ एन्फाबीच भएको प्रतियोगिता आयोजनासम्बन्धी सम्झौताको भने पुनरावलोकन हुने छ । त्यसका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ नेतृत्वको सात सदस्यीय समिति पनि बनाइएको छ ।
समितिले सम्झौता अध्ययन गरेर परिमार्जन गरेर फेरि सम्झौता गर्नलाई बाटो खुला गर्ने छ । पहिलो संस्करणमा ७ टिम सहभागी एनएसएलमा यो सिजन ३ टिम थप गरेर १० पुर्याइएको छ । प्रतियोगितामा विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ ।



