साउन ३१ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ)मा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध लगाएको छ ।
मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको फिफाले जनाएको हो । फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ ।
फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन।
यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि सर्ने भएको छ ।
फिफाले पछिल्लो समय भारतको एफएलाई सहमति भएको रोडम्यापबाट विचलित भएमा प्रतिबन्धको चेतावनी दिदै आएको थियो । तर, भारतको एफएमा पटक पटक विधान विपरित कार्य हुँदै आएको थियो ।
गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।
त्यसपछि फिफा र एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)ले एएफसी महासचिव विन्डसर जोनको नेतृत्वमा एउटा टोलीलाई भारतीय फुटबल सरोकारवालासँग छलफलका लागि पठाएको थियो ।



