एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल जारी सिजनको तेस्रो खेलमा आएर म्यान्चेस्टर युनाइटेडले पहिलो जित दर्ता गरेको छ ।
मंगलबार बिहान सम्पन्न खेलमा घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले लिभरपुललाई २-१ गोल अन्तरले हरायो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले १/१ गोल गरे । यता लिभरपुलका मोहमद सलाहले एक गोल सान्त्वना फर्काएका थिए ।
खेलको १६औं मिनेटमा सान्चोले युनाइटेडलाई सुरुवाती अग्रता दिलाए र पहिलो हाफभरि युनाइटेडले १-० गोलको अग्रता बनायो ।
दोस्रो हाफको सुरुवातमै युनाइटेडले अग्रता दोब्बर पार्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्थोनी मार्सियलको पासमा रासफर्डले गोल गरे । खेलमा २-० गोलले पछिपरेको पाहुना टोली लिभरपुलको लागि ८२ औं मिनेटमा सलाहले गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर त्यसपछि बाँकी समय थप गोल हुन सकेन ।
प्रशिक्षक टेन हागले लिभरपुलविरुद्ध सुरुवाती ११ बाट कप्तान ह्यारी मगाएर र भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बाहिर राखेका थिए । रोनाल्डो ८५औं मिनेटमा मैदान प्रवेश गराए पनि थप गोल निस्कन सकेन ।
उक्त जितसँगै युनाइटेड ३ खेलमा ३ अंक जोड्दै १४ औं स्थानमा छ । ऊ अंक तालिकामा लिभरपुल भन्दा माथि उक्लिएको हो । समान खेलबाट लिभरपुल २ अंकसाथ १६औं स्थानमा रहेको छ ।



