भदौ १२ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको टिम म्यानेजरमा अनिल श्रेष्ठ नियुक्त भएका छन् ।
आइतबार एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले श्रेष्ठलाई स्वागत गर्दै नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठले यसअघि लिग च्याम्पियन्स मच्छिन्द्र फुटबल क्लबको टिम म्यानेजरका रुपमा काम गरिसकेका छन् । उनी लिग च्याम्पियन्स क्लबका उपाध्यक्ष पनि हुन् ।

एन्फा मिडियासँग कुरा गर्दै श्रेष्ठले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न पाउँदा खुसी लागेको बताए । ‘मैले यसअघि पनि टिम म्यानेजरको रुपमा काम गरेको छु तर क्लब स्तरमा थियो । राष्ट्रिय टोलीको टिम म्यानेजर अर्कै तहको हुन्छ, मलाई थाहा छ यो चुनौतीपूर्ण छ तर म आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु’, श्रेष्ठले भने ।
आफ्नो नयाँ भूमिकामा श्रेष्ठको पहिलो काम आगामी असोज ११ मा दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हुनेछ ।



