भदौ १३ काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले जारी गरेको नयाँ टि२० आई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । टि२० आई वरीयता घटेसँगै नेपालले २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ ।
नयाँ वरीयता अनुसार नेपाल १५औं स्थानमा पुगेको छ । नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दापछि स्कटल्यान्ड १६औं स्थानमा छ । ओमान १७औं, नेदरल्यान्ड्स १८औं, पपुवा न्युगिनी १९औं र हङकङ २०औं स्थानमा छन् ।
यस्तै वरीयताको भारत शीर्षस्थानमा छ । इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन् । वेस्टइन्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्यान्ड १२औं र युएई १३औं स्थानमा छन् ।



