एजेन्सी । ब्राजिलियन सुपर स्टार नेयमारको गोलमा फ्रेन्च लिग वान फुटबलमा साविको विजेता पेरिस सेन्टर जर्मन (पिएसजी) हाटबाट मुस्किलले जोगिएको छ ।
आइतबार राति भएको खेलमा पिएसजी मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो । पहिलो हाफको खेलको २०औं मिनेटमा केभिन भोलाण्डले गोल गर्दै पाहुना टोली मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ७०औं मिनेटमा घरेलु टोलीका लागि नेयमारले पेनाल्टीमा गोल गर्दै १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १-१ गोलको बराबरीमा सकियो ।
उक्त बराबरीसँगै पिएसजीले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । यता समान खेलबाट मोनाकोले ५ अंक जोडेर १२औं स्थानमा रहेको छ ।



