भदौ २० काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले घरेलु मैदानमा महिला साफ च्याम्पियनको उपाधि जित्दै इतिहास रच्ने बताएकी छिन् । यस्तै अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार प्रि-म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको जनाएको छ ।
नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन् । घाइते रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन् । ’मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद । त्यो विश्वासलाई गुम्न दिने छैन,’ यो विश्वासलाई नियाल्दै घरेलु मैदानमा नेपाललाई च्याम्पियन बनाउँने प्रि-म्याच कन्फरेन्समा एन्जिलाले भनिन्।
सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु-१४ गल्स रिजनल ट्रफी जित्दा नेपाली गोलपोष्ट एन्जिलाले सम्हालेकी थिइन् । सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ वर्ष बेञ्चमा नै सिमित भइन । सन २०१६ को सागको सेमीफाइनल खेलमा नेपालकी नियमित गोलरक्षक लिला लाम्गादेको स्थानमा गोलपोष्ट सम्हाल्दै सिनियर टिमबाट डेव्यु गरिन । एन्जिलाले ४ वर्षअघि हिरो कपमा कार्यवहाक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी थिइन् । उनकै कप्तानीमा नेपालले पहिलो पटक भारतलाई महिला फुटबलमा पराजित गरेको थियो । उनी राष्ट्रिय टोलीको दशौ कप्तान समेत हुन् ।
उपकप्तानको जिम्मा अमृता जैशीलाई दिइएको छ । नेपाल पुलिस क्लबमा आवद्ध उनी सन् २०१४ बाट नेपाली महिला राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ ।
फाइनल खेल असोज ३ गते हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
नेपाल सहज मानिएको ’बी’ रहेको छ। नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ। यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । यस्तै, नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।



