भदौ २० काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन नेपालले स्विप गरेको छ ।
सोमबार भएको अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हराउँदै सिरिज ३-० ले आफ्नो पक्षयमा पारेको हो ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए । वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।
केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।
उक्त जितसँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज जितेको छ । नेपालले यस अघि पाँच खेलको टी२० अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।



