भदौ २१ काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने साफको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । उक्त उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्ससहित ७ टोलीको सहभागिता रहेको छ ।
सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह बी मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
समूह चरणको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।



