भदौ २१ काठमाडौं । युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता २०२२ अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
श्रीलंकाले आजको खेलमा जित निकाल्न सकेमा आफूलाई शीर्ष दुईमा बलियो दावेदारी प्रस्तुत गर्नेछ । यता भारतलाई फाइनल सम्भावनालाई जोगाइ राख्न आजको खेलमा जित्नै पर्ने दबाब छ ।



