भदौ २२ काठमाडौं । युएईमा जारी टी२० एसिया कप २०२२ को सुपर फोरमा आज पाकिस्तानले अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरुहुनेछ ।
पाकिस्तान आजको खेलमा विजयी हुँदा फाइनल पुग्नेछ । पाकिस्तान विजयी हुँदा श्रीलंका पनि फाइनलमा स्थान पक्का गराउनेछ । तर पाकिस्तान विजयी हुँदा भारत भने सुपर फोरबाटै औपचारिक रुपमा बाहिरिनेछ ।
पाकिस्तानले सुपर फोरमा भारतलाई ५ विकेटले हराएको थियो । उक्तक्रममा पाकिस्तानले भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य १९.५ ओभरमा पूरा गरेको थियो । समूह चरणमा पाकिस्तान भारतसँग ५ विकेटले नै पराजित भएको थियो । भारत श्रीलंकासँग ६ विकेटले पराजित भएपछि सुपर फोरबाटै बाहिरिने उच्च सम्भावना छ । भारतको झिनो अंक गणीतिय सम्भावना मात्र बाँकी छ । भारत फाइनलमा पुग्न पाकिस्तानले दुबै खेल हार्नुपर्छ ।



