भदौ २२ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाले मंगलबार अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीसँग शिष्टाचार भेट गरेका छन् ।
सातदोबाटोस्थित एनफा मुख्यालयमा आधा घण्टाको छलफलमा लामाले राजदूत रेग्मीलाई नेपालको फुटबल गतिविधिबारे जानकारी गराएका थिए । मैले उहाँलाई नेपालले सेप्टेम्बर ६ देखि काठमाडौंमा साफ महिला च्याम्पियनसिप र सेप्टेम्बर २७ मा बंगलादेशसँगको मैत्रीपूर्ण खेल आयोजना गरिरहेको बताएको छु, लामाले भने ।
नेपाली फुटबल जगतका कसैलाई भेट्न पाउँदा राजदूतलाई खुसी लागेको लामाले बताए । ‘नेपालका कुनै व्यक्तिले आफूसँग फुटबलको विषयमा छलफल गरेको यो पहिलो पटक हुनसक्ने उनले बताए,’ ।
रेग्मीले आफ्नो क्षमताले नेपाली फुटबललाई सहयोग गर्ने आश्वासन दिए । ‘नेपाल फर्किएपछि यस विषयमा सरकारसँग छलफल गर्ने उनले बताए,’ लामाले भने ।



