भदौ २३ काठमाडौँ । युएईमा जारी टी२० एसिया कप २०२२ को सुपर फोर अन्तर्गत पाकिस्तानले लगातार दोस्रो जित निकाल्दै फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अफगानिस्तानले दिएको १३० रनको लक्ष्य पछाएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।
यो खेलपछि पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा पुगेका छन् । पाकिस्तान र श्रीलंका सुपर फोरमा २/२ खेल जितेर फाइनलमा पुगेका हुन् ।
त्यस्तै पाकिस्तानको यो जितपछि भारत र अफगानिस्तानको फाइनल पुग्ने सम्भावना सकिएको छ । अब सुपर फोरको अर्को खेलमा विहिबार भारत र अफगानिस्तान खेल्ने छन् भने सुपर फोरको अन्तिम खेलमा शुक्रबार श्रीलंका र पाकिस्तान खेल्ने छन् ।
एसिया कपको फाइनल खेल आगामी आइतबार श्रीलंका र पाकिस्तानबीच नै हुने छ ।



