काठमाडौं । युएईमा जारी टी२० एसिया कप क्रिकेटको सुपर चारमा भारतले अफगानिस्तानलाई हराएको छ ।
दुबईमा बिहीबार राति भएको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो । यस अघि नै बाहिरिसकेको भारतको यो सान्त्वना जित हो ।
भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।
अफगानिस्तानका लागि इब्राहिम जाड्रनले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले । मुजिब उर् रहमानले १८ तथा राशिद खानले १५ रन बनाए । भारतका भुवनेश्वर कुमारले मात्र ४ रन खर्चिएर ५ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।
भारतका लागि बिराट कोहलीले अविजित रहदै १ सय १२ रनको शतकीय इनिङ खेले । उनको यो पहिलो टी(ट्वान्टी अन्तराष्ट्रिय शतक हो । यस्तै करियरको ७१ औं शतक हो । त्यस्तै कप्तान केएल राहुलले ६२ रनको अर्धशतकीय इनिङ खेले । ऋषव पन्त २० रनमा अविजित रहे ।



