भदौ २४ काठमाडौं । युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज एक खेल हुँदैछ । सुपर फोरको अन्तिम खेलमा आज पाकिस्तान र श्रीलंक खेल्दैछन् ।
नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ पौने ८ बजे सुरु हुनेछ । एसिया कपको फाइनल पुगिसकेका दुवै टोली सुपर फोरमा अपराजित रहन चाहन्छन् ।
यो खेलको विजेता शीर्ष तथा पराजित हुने टोलीले दोस्रो स्थानमा रहेर फाइनल खेल्नेछन् । सुपर फोरका अघिल्ला खेलमा पाकिस्तानले भारतलाई ५ तथा अफगानिस्तानलाई एक विकेट हराउँदा श्रीलंकाले भारतविरुद्ध ६ तथा अफगानिस्तानविरुद्ध ४ विकेटको जित निकालेको थियो ।
एसिया कपमा यी दुई टोलीले हालसम्म १५ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा श्रीलंका बलियो देखिन्छ । उसले एसिया कपमा पाकिस्तानलाई १० खेलमा हराएको छ । त्यस्तै, पाकिस्तानले एसिया कपको पाँच खेलमा श्रीलंकालाई हराएको छ ।



