शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट सुरु

एक्सप्रेस पाना
भाद्र ३१, २०७९ शुक्रबार
  • 325
    SHARES
  • नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट सुरु

    दोधारा चादँनी, ३१ भदौ : आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट आजदेखि सुरु भको छ । छनौट प्रतियोगिता कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा एकसाथ सुरु भएको छ । 

    images

    धनगढी र महेन्द्रनगरमा विभिन्न खेल विभाजन गरी सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनौट थालेको हो । राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ खेलमध्ये ३३ खेलमा सुदूरपश्चिम सहभागी हुने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो । 

    सुदूरपश्चिममा प्रदेशस्तरीय छनौट प्रतियोगितामा दुई हजार पाँच सय ३६ खेलाडी सहभागी हुँदैछन् । प्रदेशस्तरीय छनौटबाट छानिने सात सय ५० खेलाडी सुदूरपश्चिमको प्रतिनिधत्व गर्दै नवौं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने सिंहले जानकारी दिनुभयो । प्रदेशबाट एक सय ९४ खेलाडी नवौँ राष्ट्रियका लागि सोझै छनोट हुने भएका छन् । क्रिकेट खेलाडी यसअघि छनौट भइसकेका छन् । 

    images

    सुदूरपश्चिममा १६ खेलका खेलाडी प्रदेश स्तरीय प्रतियोगिताबाट छनौट गरिने सिंहले बताउनुभयो । हक्की, जुडो, करातेलगायत खेलबाट सोझै छनौट गरिने उहाँले बताउनुभयो । छनौट प्रतियोगितामा सहभागिताका लागि प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी धनगढी र महेन्द्रनगर आउने क्रम जारी छ । छनौट प्रतियोगितामा पुरुष फुटबल, महिला फुटबल, पुरुष भलिबल, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाल, उसु, खो खो, जुडो, जिम्न्यास्टिक, रक्बी, भारोत्तोलन र ह्याण्डबल धनगढीस्थित रङ्गशालामा तथा महिला भलिबल, पुरुष कबड्डी, महिला टेवलटेनिस, तेक्वान्दो, कराते, फुलकन्ट्याक्ट कराते, कुश्ती, आइटिएफ तेक्वान्दोलगायत खेल महेन्द्रनगरमा सञ्चालन हुने छन् । 

    महेन्द्रगरमा आजदेखि तेक्वान्दो छनौट सुरु भइसकेको छ । त्यहाँ आगामी असोज ६ गतेभित्र छनौट गर्ने गरी प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई दैनिक रु दुई हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रतियोगिताका लागि प्रदेश सरकारले रु चार करोड, प्रदेश खेलकुद परिषद्ले रु ९५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले रु ४९ लाख उपलब्ध गराएको सदस्य सचिव सिंहले जानकारी दिनुभयो । 

    जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्काका अनुसार महेन्द्रनगरमा भलिबल, कबड्डी, टेवुलटेनिस, तेक्वान्दो, कराते, फुलकन्ट्याक्ट कराते, कुश्ती र आइटिएफ तेक्वान्दो प्रतियोगिता हुँदैछ । “आज तेक्वान्दो सुरु भएको छ, अन्य खेल शनिबारदेखि गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा सहभागी हुन नौ सय ७८ खेलाडी कञ्चनपुर आउँदै छन् ।” कञ्चनपुरबाट ३१ खेलका चार सय २१ खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुँदैछन् । सुदूरपश्चिमबाट निर्णायक, प्रशिक्षक, खेलाडी, पदाधिकारीसहित चार सय ७२ जना नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् । 

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद
  • # रासस