काठमाडौं । सन् २०१९ को विजेता पोर्चुगल युईएफए नेसन्स लिग फुटबलको समूह चरणबाट बाहिरएको छ ।
मंगलबार राति भएको अन्तिम खेलमा स्पेनले पोर्चुगललाई उसकै घरमा ०-१ ले हराउँदै फाइनल फोरमा स्थान पक्का गरेको हो । घरेलु टोली पोर्चुगललाई फाइनल फोरमा पुग्न बराबरी नतिजा नै काफी हुने भए पनि पराजित भएपछि उसको उपाधि सपना सकिएको हो ।
स्पेनले पोर्चुगलको घरेलु मैदानमा दोस्रो हाफको अन्तिम समयमा गोल गर्यो । पछिल्ला ४ खेल हार–जितबिना बराबरी भएकोमा यसपटक स्पेनले पोर्चुगलमाथि उसकै घरेलु मैदानमा महत्त्वपूर्ण जित निकाल्यो, जुन जितले स्पेनलाई नेसन्स लिगको फाइनल फोरमा पुग्न सफल भयो ।
खेलको ८७औं मिनेटसम्म खेल ०-० को बराबरीमा थियो । यही अवस्थामा खेल सकिएको भए पोर्चुगल नै समूह विजेता बन्ने थियो । तर, खेलको ८८औं मिनेटमा स्पेनका लागि अल्भारो मोराटाले गोल गरेपछि पार्चुगललाई झट्का लाग्यो । स्पेनका सब्सिच्यूट युवा खेलाडी निको विलियम्सको क्रस पासमा मोराटाले हाफ भलीमा सहजै गोल गरेर स्पनेलाई अग्रता दिलाएका थिए । उनको त्यही १ गोल स्पेनलाई जिताउन पर्याप्त बन्यो ।



