-एजेन्सी
दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । यो सँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ ।
ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बन्यो ।
खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।बर्सिलोनाबाट क्लब फुटबलमा तहल्का मच्चाउँदै आएका ३४ वर्षीय मेस्सीलाई राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेको आरोप लागेको थियो । मेस्सीले अर्जेन्टिनाको जर्सीमा यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा फुटबलबाट स्वर्ण जितेका थिए ।
सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेलेको थियो । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो ।


