काठमाडौं । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले ओमोनियालाई ३-२ गोल अन्तरले हराएको हो ।
रोमान्चक खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको हो । खेलको ३४औं मिनेटमा करिमले गोल गर्दै ओमोनियोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर ५३औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई १-१ को बराबरीमा ल्याए । खेलको ६३औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडको अग्रता २-१ को बनाए । ८४औं मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५औं मिनेटमा ओमोनियोका निकोलसले गोल गरेपनि युनाईटेड ३-२ गोल अन्तरले विजयी भयो ।
उक्त जितसँगै युनाईटेडले ३ खेलमा ६ अंक जोडेको छ । युनाईटेड समूह ई को दोस्रो स्थानमा रहेको छ । ओमोनियो अंक विहीन रहदै पुछारमा रहेको छ ।



