एजेन्सी । अर्जेन्टिनी सुपरस्टार फुटबल लियोनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि ‘निश्चित रूपमा’ अन्तिम हुने बताएका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजीका ३५ वर्षीय फरर्वाड मेस्सीले अर्जेन्टिनाको तर्फबाट ४ पटक विश्वकप खेलिसकेका छन् । सो क्रममा १९ खेलमा उनले ६ गोल गरेका छन् भने ५ गोलका लागि पास उपलब्ध गराएका छन् ।
सन् २०१४ मा अर्जेन्टिनालाई उनले उपविजेताको उपाधि दिलाएका थिए भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।
मेसीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ । “निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,” उनले भने । ईएसपीएनसँग कुरा गर्दै मेस्सीले थपे, “मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ ।”
सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेस्सीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गरेका छन् । फिफाको वरीयता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ ।
नोभेम्बर २० तारिखबाट शुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सी मा अर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ ।
“विश्वकपमा जे पनि हुनसक्छ । सबै प्रतिस्पर्धा कठिन हुन्छन् । लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन,” मेस्सीले भने ।
आफ्नो इतिहासका कारण अर्जेन्टिना सधैँ एउटा दावेदारको रूपमा रहिआएको बताउँदै उनले भने, “अहिले पनि हामी दावेदार हौँ, तर हामी सबैभन्दा लोकप्रिय होइनौँ । मेरो विचारमा हामीभन्दा अरू पनि राम्रा टोली छन् ।”



