भियतनाममा जारी एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ ।
भियतनाममा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग ४-२ गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल जितविहीन बनेको छ । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५-० गोलअन्तरले पराजित भएको थियो । यस खेलसँगै नेपाल र चाइनिज ताइपेई प्रतियोगिताबाट बाहिरिसकेको छ ।
चाइनिज ताइपेईको जितमा लिन हाइ चेङले दुई गोल गरे भने ताई यान याओ र लु यी टिङले एक/एक गोल गरे । नेपालका लागि भने कप्तान प्रशान्त लक्षम र धनसिंह विकले एक-एक गोल फर्काए । खेलको तेस्रो मिनेटमा लिनले गोल गर्दै चाइनिज ताइपेईलाई सुरुआती अग्रता दिलाए । त्यसैगरी खेलको १०औँ मिनेटमा प्रशान्तले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २८औँ मिनेटमा यानले गोल गर्दै चाइनिज ताइपेईको अग्रता २-१ को बनाए भने खेलको ६१औँ मिनेटमा धनसिंहले गोल गर्दै नेपाललाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ७८औँ मिनेटमा दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा सीमित बनेको थियो । खेलको ८० औँ मिनेटमा लुले गोल गर्दै चाइनिज ताइपेईलाई ३-२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औँ मिनेटमा लिनले व्यक्तिगत दोस्रो गोल गर्दै चाइनिज ताइपेईलाई ४-२ को जित दिलाए ।
यस जितसँगै चाइनिज ताइपेईको यो पहिलो जित भएको छ । समूह ‘एफ’ मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा रह्यो भने चाइनिज ताइपेई तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो । भियतनाम छ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । थाइल्याण्ड छ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ ।



