काठमाडौँ । इटालियन फुटबल क्लब नापोली र बेल्जियमको क्लब ब्रुगे युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।
नापोलीले बुधवार राति सम्पन्न समुह ए अन्तर्गतको खेलमा नेदरल्याण्डको क्लब आयक्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नापोलीले योसहित अहिलेसम्म खेलेका चार खेलमा चारै खेल जितेर समुह ए बाट नकआउट चरणमा पुगेको छ । नापोलीको ४ खेलमा १२ अंक रहेको छ ।
त्यस्तै समुह बि मा रहेको क्लब ब्रुगेले स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँग गोलरहित बराबरी खेल्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । क्लब ब्रुगेको ४ खेलमा १० अंक रहेको छ ।
योसहित अहिलेसम्म नापोली र क्लब ब्रुगेसहित बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेका छन् ।



