काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आगामी निर्वाचनमा पार्टीका सबै उम्मेदवारलाई भोट माग्न नसक्ने बताएका छन् ।
चुनावमा आफुले टिकट नपाएको अवस्थालाई स्पष्ट गर्न रावलले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विगतमा एमाले कार्यकर्ताको रगत बगाउने, एमालेविरुद्ध लागेकालाई सूर्य चुनाव चिह्न दिएले सबै उम्मेदवारका लागि भोट माग्न नसक्ने बताएका हुन् ।
उनले भने- 'एमालेका उम्मेदवारमा संविधान दिवसलाई कालो दिवस मनाउने पनि देख्छु, जसको विरुद्धमा एमालेका कार्यकर्ताहरूले रगत बगाउनुपर्यो तिनलाई पनि एमालेले उम्मेदवार बनाएको देख्छु । होलिवाइनलाई पनि उम्मेदवार बनाएको देख्छु, कसरी एमालेका सबै उम्मेदवारलाई जिताउन भन्छु ?'
उनले पार्टीमा भूमिका खेलेका र व्यवस्था तथा कम्युनिस्ट विचारप्रति प्रतिबद्ध उम्मेदवारका लागि मत माग्ने बताए।
उनले भने- 'देशभक्त, मार्क्सवादप्रति प्रतिबद्ध, एमालेमा रगत, पसिना बगाएका, गलत कुराको विरुद्ध लड्ने, विधि-पद्धति मान्ने ती उम्मेदवाहरूलाई जिताउन भन्छु ।'
नेता रावल विगतमा एमालेको विरोधमा लागेका व्यक्तिहरूलाई उम्मेदवार बनाएकोप्रति पार्टी नेतृत्वप्रति आक्रोश पोखेका थिए । रावलले पार्टीले टिकट नदिएपनि पार्टी बहने नछोड्ने स्पष्ट गरेका छन् । उनले आगामी दिनमा देशको राजनीति कसरी अगाडी बढ्छ त्यसरी नै आफु अगाडी बढ्ने र संसदमा जान नपाएपनि विभिन्न सार्बजनिक फोरमबाट आफ्ना कुरा राख्ने बताएका छन् ।



