शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नवौं राष्ट्रिय खेलकुद : एनआरएनएको टोलीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी

एक्सप्रेस पाना
आश्विन २७, २०७९ बिहीबार
  • 387
    SHARES
  • नवौं राष्ट्रिय खेलकुद : एनआरएनएको टोलीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । संघले प्रदेश १ को टोलीलाई २-० गोल अन्तरले हराएको हो ।

    images

    बिहीबार पोखरास्थित गोस्टेघाट फुटबल मैदानमा भएको खेलमा एनआरएनएको तर्फबाट संजोक राई र विमल घर्ती मगरले १/१ गोल गरेका थिए ।

    तर, एनआरएनएको तर्फबाट मैदानमा उत्रिएका अधिकांश खेलाडी गैरआवासीय नेपाली होइनन्। गोल गरेका राई र घर्ती पनि एनआरएन होइनन् । राई ए डिभिजन लिग खेल्ने खेलाडी हुन् भने घर्ती राष्ट्रिय टिमका खेलाडी हुन् ।

    images

    राईले सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफमा राष्ट्रिय टोलीका फरवार्ड घर्तीले सेकेण्ड गोल गरेका थिए ।

    May be an image of 6 people, people playing football, people standing and grass

    एनआरएनएले रोजगारीको लागि विदेश बस्न बाध्य नेपाली खेलाडीहरूलाई पनि राष्ट्रिय खेलकुदमा आबद्ध गराउने मुख्य उद्देश्यसहित ‘एनआरएनए खेलकुद प्रतिष्ठान’को स्थापना गरेको थियो । यही प्रतिष्ठानमार्फत संघले खेलकुद गतिविधिलाई अगाडी बढाइरहेको छ ।

    संघले आठौं राष्ट्रिय खेलकुदमा पनि विदेशबाट आफ्ना खेलाडी ल्याएर सहभागिता जनाएको थियो । तर, यसपटक भने संघले विदेशबाट आफ्ना खेलाडी ल्याउन सकेको छैन। यद्यपि मलेसियालगायतका देशबाट केही एनआरएन खेलाडी भने फुटबलमा सहभागी छन् ।

    प्रदेश १ ले एनआरएनएका सदस्य नभएका खेलाडीलाई टोलीमा राखिएको भन्दै विरोध समेत जनाएको थियो । तर, खेलपछि प्रोस्टेट पनि हाल्न पाउने भनेपछि बल्लतल्ल खेल सुरु भएको थियो ।

    एनआरएनएका युवा उपाध्यक्ष रोशन थापाका अनुसार विदेशबाट खेल्न आउने तय भएका आफ्ना खेलाडी नआएकोले नेपाली खेलाडी समावेश गर्नुपरेको बताए ।

    ‘आउने तय भइसकेका कतिपय खेलाडी कारणवश नआएकोले हो । अरू टिममा पनि बाहिरी खेलाडीलाई राखिएको छ। राख्न पाइन्छ भनेपछि हामीले पनि राखेका हौं,’ युवा उपाध्यक्ष थापाले भने ।

    May be an image of 5 people, people playing football, people standing and grass

    ‘गैरआवासीय नेपाली भन्नाले नेपाली मूलको विदेशी नागरिक वा दुई वर्ष भन्दा बढी नेपाल सरकारबाट खटिई विदेशस्थित नेपाली नियोगमा बहाल रहेको, विदेशस्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन (सार्क) अन्तर्गतका मुलुकहरू बाहेकका अन्य देशहरूमा पेसा, रोजगारी वा व्यवसाय गरी बसोबास गर्ने नेपाली नागरिकलाई जनाउँदछ। यसै अनुच्छेदमा उल्लेखित ‘नेपाली मूलका विदेशी नागरिक’ भन्नाले कुनै व्यक्ति साबिकमा स्वयम् वा निजको बाबु, आमा, बाजे, वा बज्यै नेपालको नागरिक रही पछि सार्कको सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको व्यक्तिलाई जनाउँदछ,’ गैरआवासीय नेपाली ऐनमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # नवौँ राष्ट्रिय खेलकुद