पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक विभागिय टोली नेपाल पुलिस क्लबले जितेको छ ।
पोखरा क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक फाइनल खेलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो ।
पुलिसले पहिलो पटक राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट बनाएको थियो ।
पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय,संगिता राई र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाईन् । कविता जोशीले अविजित १३ रनको ईनिङ खेल्दा कविता कुवँरले ११ रन जोडिन् ।
कप्तान रुबिना क्षेत्रीले ८ रन जोड्दा अप्सरी बेगमले अविजित २ रन बनाईन् । एपीएफका लागि नेरी थापा,ईन्दु बर्मा र कप्तान सिता राना मगरले समान १/१ विकेट लिए ।
प्रतियोगितामा एपीएफ रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ ।



