कार्तिक १ काठमाडौं । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज मङ्गलवार महिला भलिबलतर्फ सेमिफाइनलका खेल सकिएका छन् ।
आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बाग्मती प्रदेशलाई ३-१ को सेटमा हराउँदै विजयी भएको छ । पहिलो सेट बाग्मती प्रदेशले एपीएफलाई २५-२३ ले पराजित गरेकोमा त्यसपछि लगातार तीन सेटमा एपीएफले बाग्मतीलाई २५-२३, २५-२२ र २५-१६ ले पराजित गरी फाइनल प्रवेश गरेको हो ।
यसैगरी दोस्रो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५-१०, २५-१८ र २५-११ को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।
भोलि बुधवार नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच फाइनल खेल हुने छ भने तेस्रो स्थानका लागि गण्डकी र बाग्मती प्रदेश खेल्ने भएका छन् ।
राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम गरी १० वटा टिमको सहभागिता रहेको छ भने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनएसहित ११ वटा टिमले सहभागिता जनाएका छन् ।



