कात्तिक ३ काठमाडौं । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ ।
प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुँने भएका छन् ।
यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए ।
उनका अनुसार १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ । प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ । विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ ।
नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन् । केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ ।



