कात्तिक ३ काठमाडौं । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा आयोजना भए नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको छ ।
जसमा अन्तिम फाईनल खेल अन्तर्गत पुरुष फुटबल रहेको थियो । उक्त पुरुष फुटबलमा विभागिय टोली साविको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा हराउँदै अर्को विभागिय टोली एपीएफ फुटबल क्लबले स्वर्ण पदक हात पारेको छ ।
बिहिवार पोखरा रंगशालामा भएको खेलमा एपीएफले आर्मीमाथि सडन डेथमा ६-५ गोल अन्तरको जित निकालेको हो । निर्धारित समय र अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
जसमा एपीएफका गोलरक्षकले आर्मीको दुई पेनाल्टी बचाएका थिए भने एपीएफकाे एक पेनाल्टी आकासिएको थियो ।
टाइब्रेकरमा आर्मिका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सिमन्त थापा, विवेक बस्नेत, विकास खवासले गोल गरेका थिए । सेसेहाङ आङ्दम्बे र सुमन अर्यालले गोल गर्न सकेनन् । यता एपीएफका लागि नविन लामा, आबास लामिछाने, सुदिप शिख्रकार, राजु नगरकोटी, दीपेश धिमाल र विश्वास उदासले गोल गरे । सनिश श्रेष्ठले प्रहार गरेको बल आकासिएको थियो ।
उक्त हारसँगै आर्मीले रजत पदकमा जित बुझाएको छ । यो सँगै एपीएफले महिला पुरुष दुबई फुटबल बलमा स्वर्ण पदक जितेको छ । आजै भएको महिला फुटबलको फाइनल खेलमा पुलिसमाथि २-१ गोलको जित निकाल्दै एपीएफ महिला टोलीले स्वर्ण जितेको थियो ।



