जिल्ला कै सर्वाधिक ठूलो धन राशीको प्रथम सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिता २०७९ को उपाधी मेलम्ची नगरपालिकाले जितेको छ।
जलविरे यूवा क्लवकको आयोजनामा सोमबार सम्पन्न भएको फाइनल खेलमा जुगल गाउँपालिकालाई ३-० को सेटमा पाखा लगाउदै मेलम्ची नगरपालिकाले उपाधी जितेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको आनन्द माध्यमिक विद्यालयको खेल मैदानमा उच्च मनोबलका साथ फाईनल भिडन्तमा उत्रेको मेलम्ची नगरपालिकाले उपाधी संगै नगद एक लाख, कप,मेडल तथा प्रमाणपत्र हात पारेका छन्।
फाईनलमा हार ब्यहोरेको जुगल गाउँपालिका उपबिजेतामा सिमित रहदै नगद ५० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगितामा मेलम्ची नगरपालिका २ तृतीय हुँदै नगद २५हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन् भने सिर्जन सिल यूवा क्लव मेलम्चीले सान्त्वना स्थान हुँदै नगद १० हजार, कप, मेडल तथा प्रमाणपत्र हात पारेका छन्।
उक्त कार्यक्रम क्लबको अध्यक्ष रमेश श्रेष्ठ को अध्यक्षतामा युवा नेता सुबास तिमल्सिनाको प्रमूख अतिथि बलेफि गाउँपालिका १को वडा अध्यक्ष हुप बहादुर खड्का र रितेश तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएका छन्।
कार्यक्रममा प्रमुख अतिथि तिमल्सिनाले खेलकुदको विकासले शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत ऊर्जा दिने र युवाहरुलाई यस्ता खालका प्रतियोगिताले गतिशीलता र क्रियाशीलता प्रदान गर्ने हुदा आगमी दिनमा यस्ता खालका प्रतियोगिता सन्चालन गर्न हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।
कार्यक्रम संचालक सङ्कल्प लामाले गरेको थियो । उत्कृष्ट खेलाडी मेलम्ची नगरपालिकाको रमेश खतिवडा भएका छन्।



