काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पराजित गरेको छ भने चेल्सी ब्राइटनसँग र लिभरपुल लिड्स युनाईटेडसँग स्तब्ध भएको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको ४९औं मिनेटमा केभिन डि ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो खेलमा म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड इन्जुरीका कारण खेलेका थिएनन् । उक्त जितसँगै म्यानचेस्टर सिटीको १२ खेलमा २९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । ११ खेल खेलेको आर्सनल २८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी लेस्टर सिटीले भने यस सिजनमा आठौ हार बेहोरेको छ । १३ खेलमा ११ अंक हासिल गरेको लेस्टर सिटी लिगमा १७औँ स्थानमा रहेको छ ।
यता अर्को खेलमा चेल्सी घरलु टोली ब्राइटनसँग ४-१ गोलले पराजित भएको छ । घरेलु टोलीको जितमा ट्रोसाई र ग्रोसासले १/१ गोल गरे भने २ गोल ब्राइटनले उपहार पाएको थियो । उक्त हारसँगै चेल्सीको १२ खेलबाट २१ अंकका साथ पाँचौं स्थानमा रहेको छ भने जितेको ब्राइटनले १२ खेलबाट १८ अंकका साथ ८औं स्थानमा रहेको छ ।

यता लिभरपुल घरेलु मैदानमै लिड्स युनाइटेडसँग २-१ गोल अन्तरले पराजित भएको छ । लिड्सको जितमा रोड्रिगो मोरेनो र क्रिसेन्सियो सकरभिलले १/१ गोल गरे भने लिभरपुलका लागि सलाहले गरेको एक गोल सान्त्वना भन्यो । यो हारसँगै लिभरपुलको जारी सिजनमा चौथो हार ब्यहोरेको छ । उसको १२ खेलबाट १६ अंकसहित ९नौं स्थानमा रहेको छ ।




