काठमाडौं । आइसिसी टी२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ ।
आइतबार पर्थमा भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पहिलो जित दर्ता गराएको हो ।
नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पाकिस्तानले १३।५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पाकिस्तानका लागि ओपनर मोहमद रिजवानले ३९ बलमा ४९ रन रन जोडे। कप्तान बाबर अजाम ४ रन, फखर जमान २० रन र शान मसूद १२ रनमा आउट भए । इफ्तिखर अहमेदले नटआउट ६ रन र शादब खानले नटआउट ४ रन जोडे ।
यता बलिङमा नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ९ विकेटको क्षतिमा ९१ रन जोड्यो । उसका लागि कोलिन अकरम्यानले २७ रन र स्टक इडवार्डले १५ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा पाकिस्तानका शादब खानले ३ विकेट लिए भने मोहमद वासिमले २ विकेट हात पारे ।
जारी टी२० विश्वकपको समूह २ मा नेदरल्यान्ड्सले लगातार तेस्रो खेलमा हार बेहोरेको हो । यता सुरुवाती दुई खेलमा हार बेहोरेको पाकिस्तानले भने पहिलो जित निकालेको हो । यसअघि पाकिस्तानलाई भारत र जिम्वाबेले हराएका थिए ।



