काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
आइतबार टियु क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो ।
एपीएफले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय १९ रन बनाएको थियो।
एपीएफका लागि प्रदिप ऐरी र सन्दीप जोराले अर्धशतकीय इनीङ खेले ।
प्रदिपले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रन बनाए । सन्दीपले ६२ बलमा ६ चौकासहित ५० रन बनाए । यस्तै भुवन कार्कीले २६ रन जोड्दा कप्तान शरद भेषवाकरले १६ रन बनाए । अमर रौटेला १० रनमा अविजित रहे । आर्मीका बिक्रम सोबले ४ विकेट लिए । शाहब आलम र कुशल मल्लले २/२ विकेट लिए ।
उक्त जितसँगै एपीएफले पहिलो खेलमा २ अंक जोडेको छ ।एपीएफ समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ ।
यस्तै आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई १९२ रनले पराजित गरि सुखद सुरुवात गरेको छ ।



