काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेल हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने खेलमा प्रदेश १ र बागमती प्रदेशबीच खेल हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ । प्रदेश १ र बागमती पहिलो जितको खोजीमा हुने छन् । पहिलो खेलमा दुबै टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ । एपीएफ लगातार दोस्रो जितको खोजीमा हुनेछ । सुदुरपश्चिम पहिलो जितको योजनामा रहेको छ ।
१० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
१० टोली सहभागि रहेको यस प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।



