काठमाडौं । अष्ट्रेलियामा जारी टी२० विश्वकपमा श्रीलंका विजयी भएको ।
मंगलवार भएको खेलमा अफगानिस्तानमाथि ६ विकेटको सहज जित निकालेको हो । अफगानिस्तानले दिएको १४५ रनको विजयी लक्ष्य पाएको श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
श्रीलंकाको जितमा धनन्जय मदुरङ्गा डी सिल्भाले सर्वाधिक ६६ रनको अर्धशतकिय रनको योग्दान गरे । यस्तै कुसल मेन्डिस २५, चरित असलंका १९, भानुका राजपाक्षे १८ र पथुम निसान्काले १० रनको योगदान दिए ।
यता अफगानिस्तानको मुजीब उर रहमान र राशिद खानले समान २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो । अफगानिस्तानका रह्मनुल्लाह गुरबाजले २८ रन बनाए भने उस्मान घानीले २७ रन बनाएका थिए । त्यस्तै इब्राहिम जादरनले २२, नज्बुल्लाह जरदानले १८, कप्तान मोहमद नाबीले १३ र गुल्बादीन नैबले १२ रन बनाएका थिए ।
त्यसैगरी श्रीलंकाका बलर वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिएका थिए भने लाहिरु कुमाराले २ विकेट लिएका थिए । त्यस्तै कसुन राजिथा र धनन्जय डी सिल्भाले एक एक विकेट लिएका थिए ।
उक्त जितसँगै श्रीलंकाले दोस्रो जित निकालेको छ । उसको ४ खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित अफगानिस्तानको भने समान खेलबाट २ अंकसहित पूछारमा रहेको छ । उक्त हारसँगै अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।



