काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमतीले दोस्रो हार ब्यहोरेको छ ।
मंगलवार टियु मैदानमा भएको खेलमा बागमती प्रदेशलाई ६९ रनले हराउँदै प्रदेश-१ ले पहिलो जित निकालेको छ ।
प्रदेश १ ले दिएको ३०५ रनको विशाल लक्ष्य पछाएको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रन मात्रै बनाउन सक्यो ।
बागमतीको लागि नन्दन कुमार यादवले सर्वाधिक ४३ रन बनाए । यस्तै इशान पाण्डेले ३५ रन, राम नरेश गिरिले २८, कप्तान ज्ञानेन्द्र मल्ल २७ रन, आशुतोष घिरैया १४, दुर्गश थापा २६ रन, प्राटिस जिसि १२ रन, रित गौतम, तिलक भण्डारी ८ रन र पृथु बास्कोटा ४ रनमा आउट भए ।
यता प्रदेश-१ को लागि सर्वन यादवले ३ विकेट लिए । कप्तान सिद्धान्त लोहनी, दिपक जोसी र फिरदोश अन्सारीले समान २/२ विकेट लिए भने लभ कामतले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा ३०४ रन बनाएपछि बागमतीले ३०५ रनको लक्ष्य पाएको हो ।
प्रदेश-१ को लागि अंकित सुवेदीले ११० रनको शतकीय योगदन गरे । विवेक आनन्द मेहेताले ३० रन जोड्दा सोनु अन्सारीले १९ रन बनाए । सर्वन यादवले ११ रन जोड्दा निरज मुखिया १० रन आउट भए । फिर्दोश अन्सारी १० रनमा अविजित रहे भने कप्तान सिद्धान्त रोहनीले ७२ रनको योगदान दिए ।
यता बागमतीको लागि बलिङमा राम नरेश गिरिले ५ विकेट लिए भने सुर्य तामाङ, इशान पाण्डे, नन्दन यादव र प्राटिस जिसिले समान १/१ विकेट लिए ।
उक्त हारसँगै बागमतीले लगातार दोस्रो खेलमा हार ब्यहोरेको छ भने प्रदेश-१ ले पहिलो जित निकालेको छ । यसअघि पहिलो खेलमा बागमती विभागिय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो भने प्रदेश १ पनि पुलिससँगै पराजित भएको थियो ।



