काठमाडौँ । अष्ट्रेलियामा जारी टी२० विश्वकप अन्तर्गत नेदरल्याण्डसले जिम्बाबेलाई पराजित गरेको छ ।
बुधबार भएको खेलमा नेदरल्याण्डसले जिम्बाबेलाई ५ विकेटले हराएको हो । जिम्बाबेले दिएको ११८ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
नेदरल्याण्डस का लागि म्याक्स ओ डाउडले ५२ रन बनाएका थिए भने टम कूपरले ३२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जिम्बाबेले १९.२ ओभरमा अलआउट हुदै ११७ रन बनाएको हो ।
जिम्बाबेका लागि सिकन्दर राजाले सर्बाधिक ४० रन बनाए । त्यस्तै सीन विलियम्सले २८ रन बनाए । जिम्बाबेका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसैगरी नेदरल्याण्डस बलर पाउल भान मीकेरेनले तिन विकेट लिए भने ब्राण्डन ग्लोभर, लोगान भान बीक, बास डे मेर्वेले २/२ विकेट लिए । त्यस्तै फ्रेड क्लासेनले एक विकेट लिएका थिए ।
यो खेलपछि सुपर १२ को समुह २ मा रहेको नेदरल्याण्डसको ४ खेलमा २ अंक भएको छ भने जिम्बाबेको ४ खेलमा ३ अंक रहेको छ । दुवै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना यो खेलपछि न्यून देखिएको छ ।
अब सुपर १२ को अन्तिम खेलमा नेदरल्याण्डसले आइतबार दक्षिण अफ्रीकाविरुद्ध खेल्ने छ भने जिम्बाबेले आइतबार नै भारतसँग खेल्ने छ ।



