काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले अल्मेरियालाई हराएको छ ।
शनिवार राति बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा भएको खेलमा बार्सिलोनाले अल्मेरियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु टोली बार्सिलोनाको जितमा ओसमान डेम्बेले र फ्रेन्की डी जोंगले १/१ गोल गरेका थिए । खेलमा खेलको सातौं मिनेटमा रोबेर्ट लेवानडोस्कीले पेनाल्टी मिस गरेका थिए ।
यस खेलमा बार्सिलोनाका स्पेनिस भेट्रान डिफेन्डर जेरार्ड पिकेले आफ्नो अन्तिम खेल खेलेका छन् । केहि दिनअघिमात्र फुटबलबाट सन्यास लिएको घोषणा गरेका पिकेले आफ्नो क्यारियरको अन्तिम खेल खेलेका हुन् । पिके आफ्नो अन्तिम खेल ८५ मिनेटसम्म खेलेका थिए । २००८ देखि बार्सिलोनामा खेलेका पिकेले कुल ६१६ खेल खेलेका छन् भने ५२ गोल गरेका छन् । उनले बार्सिलोनामा ८ ला लिगा उपाधि र तीन च्याम्पियन्स लिग उपाधिसहित कुल ३० उपाधि जितेका छन् ।
उक्त जितसँगै बार्सिलोना ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १३ खेलमा ३४ अंक रहेको छ । त्यस्तै एक खेल कम खेलेको रियल म्याड्रिडको १२ खेलमा ३२ अंक रहेको छ । यता पराजित अल्मेरियाको भने १३ खेलमा १३ अंक रहेको छ ।



