काठमाडौं । २९ वर्षीय महिलाले यौन हिंसा ‘सेक्सुअल एजल्ट’ गरेको आरोप लगाएपछि अष्ट्रेलियामा आईसिसी टी२० विश्वकप खेलिरहेका श्रीलंकन क्रिकेटर दानुस्का गुणथिलाका यौन हिंसा आरोपमा पक्राउ परेका छन् । घटना पूर्वी सिड्नीमा गत साता भएको दावी गरिएको छ।
टिम बसिरहेको होटलबाट आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको छ । डेटिङ एप्समार्फत सम्पर्कमा आएकी ती महिलासँग धेरैपटक कुराकानी भएपछि गुणथिलाकाले भेटेको क्रिकइन्फोले उल्लेख गरेको छ।
गुणथिलाका ह्यामस्टिङ इन्जुरीका कारण जारी विश्वकपको पहिलो चरणबाटै टोलीबाट बाहिरिएका थिए । तर उनी अष्ट्रेलियामा टिमसँगै बसिरहेका थिए । न्यु साउथ वेल्स प्रहरीका अनुसार गत बुधबार साँझ गुणथिलकाले ती महिलामाथि आक्रमण गरेको आरोप लागेपछि अनुसन्धान भइरहेको छ ।
३१ वर्षीय गुणथिलाकाले श्रीलंकाका लागि टेस्ट क्रिकेटमा ८ खेल खेल्दै २ अर्धसतक, एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७ खेल खेल्दै २ सतक र ११ अर्धसतक तथा टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४५ खेल खेल्दै तीन अर्धसतक बनाएका छन् ।
श्रीलंकाले शनिबार मात्र सुपर–१२ को आफ्नो अन्तिम खेल खेलेको थियो। एसिया कप च्याम्पियन श्रीलंका यसपटक सुपर–१२ बाट अगाडि बढ्न सकेन ।



