काठमाडौं । पाकिस्तानसँग घरेलु मैदान दशरथ रंगशालामा हुने मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त भएका छन् ।
मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले सहायक प्रशिक्षकमा नरेश थापा नियुक्त गरेको जनाएको छ । एन्फाले यसअघि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले थापालाई नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।
मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ । फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो ।



