काठमाडौं । काठमाडौंमा जारी पीएम कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३०५ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले १४० रनको शानदार शतक प्रहार गरे । उनले १२५ बलमा ११ चौका ५ छक्कासहित १४० रनमा क्याच आउट भए ।
यस्तै आरिफ शेखले अर्धशतकीय इनिङ खेले । उनले १०९ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा अविजित रहे । यस्तै ओपनर कुशल भुर्तेल ३१ रन, सुनिल धमला १३ रन, अमित श्रेष्ठले १० रन भने करण केसी ८ रनमा नटआउट रहे ।
यता आर्मीका लागि बिक्रम सोबले ३ र शुसन भारीले १ विकेट लिए ।
यो खेलको विजेताले भोली हुने फाइनल खेलमा नेपाल एपीएफ क्लब सँग खेल्नेछ । यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा मधेसमाथि ७ विकेटको जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरि सकेको छ ।



